काठमाडौँ । अभिनेता विराज भट्टले फिल्म केवल एक्सनका कारण मात्र होइन, बलियो कथा र गहिरो भावनाले चल्ने बताएका छन् । उनका अनुसार सफल फिल्मका लागि सशक्त कथावस्तु, भावनात्मक प्रस्तुति र कलाकारको उत्कृष्ट अभिनय अनिवार्य हुन्छ ।
‘केवल मारधाड र एक्सनले मात्र फिल्म सफल हुँदैन,’ उनले भने, ‘हामी एक्सन फिल्म भन्नेबित्तिकै फाइट मात्र बुझ्छौँ तर फाइटले मात्र फिल्म चल्दैन ।’ उनले ‘राम नाम सत्य’मा दर्शकले एक्सनसँगै सामाजिक र पारिवारिक संवेदना अनुभव गर्न पाउने विश्वास व्यक्त गरे ।
बिहीबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्म राम्रो बनेको दाबी गरे । कार्यक्रममा नयाँ पुस्ताका कलाकारले ‘एक्सन स्टार’को पहिचान पाउँदै गएको सन्दर्भमा भट्ट सकारात्मक देखिए । सुशील श्रेष्ठबारे उनले भने ‘यो ट्याग मेहनतले कमाउने हो, नयाँ पुस्ताले मानसम्मान पाउनु स्वाभाविक हो ।’
निर्देशक माइकल चन्दको यो डेब्यु फिल्म हो । उनले फिल्ममा महिला संवेदना र सशक्त पात्रलाई विशेष स्थान दिइएको बताए । फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, सुधीर श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की र स्वर्गीय सुनिल थापा मुख्य भूमिकामा छन् ।
नयाँ वर्षको अवसर पारेर चैत्र २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर एक्सनप्रधान देखिएको छ ।

