२०८२ चैत २६ | १:०८ AM
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ स्थानीयमा वैशाख ७ गतेसम्म निष्कासन

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ स्थानीयमा वैशाख ७ गतेसम्म निष्कासन

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २ लाख १० हजार कित्ता आईपीओ २१ हजार जना आवेदकहरुमा १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

लगानीबक्स April 5, 2026 10:38 am

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीयमा वैशाख ७ गतेसम्म निष्कासनमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा चैत ८ गतेदेखि निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा चैत ११ गतेसम्म निष्कासन गरि चैत १८ गते बाँडफाँट गरिसकेको कम्पनीको आईपीओमा छिटो अवधि चैत २२ गतेभित्र स्थानीयबाट भने माग बमोजिम आवेदन नपरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २ लाख १० हजार कित्ता आईपीओ २१ हजार जना आवेदकहरुमा १० कित्ताका दरले बाँडफाँट गरिएको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले स्थानीयमा भने ७ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

स्थानीयमा जारी भएको शेयर खरीदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीयमा आईपीओ बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

यस कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा याम्बालिङ्ग खोलाको पानी उपयोग गरि ७ दशमलव २७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।

उक्त आयोजनाबाट २०८० साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिएको हो । गत आर्थिक वर्ष ०८१/८२ सम्म कम्पनी ७६ लाख ३४ हजार सञ्चित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८२ पैसा छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने कम्पनीले २ करोड ५५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।