२०८२ चैत २६ | १:०८ AM
सोपान फर्मास्युटिकल्सको आईपीओ थप सर्वसाधारणमा वैशाखा २ गतेदेखि निष्कासनमा आउने 

सोपान फर्मास्युटिकल्सको आईपीओ थप सर्वसाधारणमा वैशाखा २ गतेदेखि निष्कासनमा आउने 

आर्थिक वर्ष ०८१/८२ सम्म जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँभन्दा बढी कायम रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ ९२ रुपइाा १५ पैसा छ ।

लगानीबक्स April 1, 2026 12:12 pm

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले दोस्रो चरणमा थप सर्वसाधारणका लागि आगामी वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तामा जारी हुने आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ९ गतेदेखि १२ गतेसम्म ४ लाख २९ हजार कित्ता आईपीओ निष्कासन गरि चैत १७ गते आईपीओ बाँडफाँट गरिसकेको छ ।

यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको आधारमा २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले अब १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरुमा र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरि ३४ लाख ७४ हजार ९०० कित्ता भने थप सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

थप सवसाधारणमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म माग गर्दै आवेदन पेश गर्न सकिनेछ । यो आईपीओ निष्कासन अवधि छिटोमा वैशाख ६ गतेसम्मका लागि तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि वैशाख १६ गतेसम्म निष्कासन मिति तय हुनेछ । तर सर्वसाधारणमा आईपीओप्रति बढ्दै गएको आकर्षणलाई हेर्दा यो कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र निष्कासनमा रहने निश्चित छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन पेश गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयरएनपी बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो कम्पनीले औषधी उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । विक्रम संवत् २०७९ सालदेखि यस कम्पनीले व्यावसायिक उत्पादन गर्दै आएको छ । १९० भन्दा बढी औषधिहरूको फर्मुलेशन एण्ड डेभलपमेन्टमा सफलता हासिल गरिसकेको यस कम्पनीले १३६ वटा औषधिहरूको उत्पादन अनुमतिपत्र र ९२ वटा औषधिहरूको बजार अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

गत आर्थिक वर्ष ०८१/८२ सम्म जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँभन्दा बढी कायम रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ ९२ रुपइाा १५ पैसा छ । चाल आर्थिक वर्षको पुस मसान्तसमम भने कम्पनीको प्रतिशेयर आम्दानी ७० पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ८५ पैसा छ ।