काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वैशाख २७ गते वार्षिक साधारण सभा बोलाएको छ । चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कालिमाटी व्यङ्केट, कालीमाटी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित कुल ७ दशमलव ३७ प्रतिशत लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजकोे पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । साथै दुई जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । अन्य कम्पनीहरुमा लगानी गर्न सहज बनाउन होल्डिङ्ग कम्पनीको रुपमा विकास गर्नका लागि कम्पनीको नाम परिवर्तनको प्रस्ताव पनि गरिएको छ ।
यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई सभाले दिनेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख ४ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजकोको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

