काठमाडौं । बुद्धभूमी नेपाल हाईड्रोपावर लिमिटेडले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णृय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दैै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव अघि सारेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।
यस वर्ष पनि कम्पनी लाभांश वितरण नगर्ने भएको छ । २०७८ सालमै आईपीओ जारी गरेको कम्पनीले लाभांश भने हालसम्म वितरण गर्न सकेको छैन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी पछिल्लो वर्ष भने खुद नाफामा रहन सफल भएको हो । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
