शुक्रबार, २३ असोज २०८३ | ५:४० PM
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको…

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

लगानीबक्स सम्वाददाता २३ असोज २०८३ ५:३८ अपराह्न

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उहाँले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिनुभएको हो।

बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिएबापत नगदमार्फत पुरस्कृत गर्दै आएको छ। सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुगेको देखिएपछि अर्थमन्त्री डा. वाग्लेले शुक्रबार विभागलाई यस्तो निर्देशन दिनुभएको हो।

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उहाँले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो। “बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,” उहाँले मातहतका उच्च अधिकारीहरूलाई भन्नुभयो, “कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस्। कति रकम कसरि दिन सकिन्छ । जसले उहाँहरुलाई पनि बिल जारी गर्न झन्झट नहोस् ।”

बिल लिनुपर्छ भन्दै गर्दा बिल दिनुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी रहेको उहाँले बताउनुभयो। साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा हरेक १५–१५ दिनमा दैनिक एक जनालाई एक लाख ३४ हजार र एक–एक जनालाई बम्पर उपहारमा १० लाख रुपैयाँ नगद प्रदान गरिँदै आएको छ। जसमा आकस्मिक लाभकर कट्टी हुँदा विजेताले क्रमशः दैनिक एक-एक लाख र बम्परमा सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्छन्।

हालसम्म साउन १ गतेदेखि असोज १५ गतेसम्म पाक्षिक रुपमा पाँच वटा उपहार घोषणा भएर विजेतालाई नगद उपहार प्रदान गरिसकिएको छ। जसमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर उपहारमा ७ लाख ५० हजार रुपैयाँ जितिसक्नुभएको छ। अब विभागले बेलैमा कार्यविधिमा व्यवस्था गरेको अवस्थामा असोजको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्त) को पुरस्कार घोषणामा विक्रेताका लागि पनि पुरस्कार घोषणा हुनेछ। पुरस्कार प्रोत्साहन रकम उपभोक्ताको जत्तिको ठूलो नहुने स्पष्ट छ तर रकम कति हुने भन्ने यकिन भइसकेको छैन्।

प्रोत्साहन पुरस्कारमा सहभागी हुन उपभोक्ताले वस्तु खरिद गर्दा अनिवार्य रुपमा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ। अनलाइनबाट खरिदको रकम भुक्त्तानी गरेका उपभोक्ता स्वत: पुरस्कारका लागि योग्य हुन्छन् भने नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताले आन्तरिक राजश्व विभागको करदाता पुरस्कार पोर्टलमा दिइएको लिङ्क खोलेर बिल अपलोड गर्न सकिन्छ।