काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आफ्नो जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुने ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । त्यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको हो । पहिलो चरणमा १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्ने जानकारी कम्पनीले दिएको छ ।
स्थानीयमा जारी हुनेमध्ये पनि १० लाख १४ हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा र बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा निष्कासन हुने कम्पनीको भनाई छ ।
यी वाहेक थप सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ लाख २२ हजार ५०० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुनेछ । पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँट पछि दोस्रो चरणमा थप सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो ।
पहिलो चरणको आईपीओ आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा निष्कासन हुने आईपीओ छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म निष्कासनमा रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने निष्कासन मिति छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्मका लागि तोकिएको छ । दुबै तर्फको शेयर खरीदका लागि मागभन्दा बढी आवेदन प्राप्त भएमा छिटो अवधिभित्र निष्कासन बन्द गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले विक्री प्रबन्धकसँगै नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपलब्ध छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दोलखा जिल्लामा कुल २५ दशमलव ५ मेगावाट क्षमताको दुई आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनाबाट २०८२ साल असोज २५ गतेदेखि र ५ दशमलव ५ मेगावाट क्षमताको साँगु खोला १ जलविद्युत आयोजनबाट २०८२ साल मंसिर २२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको छ भने ५ दशमलव ५ मेगावाट क्षमताको साँगु खोला १ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्ष ०८२।८३ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५ पैसा छ । यस अवधिसम्म १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १५ रुपैयाँ ४८ पैसा छ । चालू आर्थिक वर्षभित्र कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा कायम गर्ने प्रक्षेपण गरेको छ । प्रतिशेयर आम्दानीको प्रक्षेपण भने १८ रुपैयाँ १७ पैसा रहेको छ ।
