सोमबार, २६ असोज २०८३ | ४:४९ PM
नवलपुरमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

नवलपुरमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

लगानीबक्स सम्वाददाता २६ असोज २०८३ ३:३२ अपराह्न

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक पड्किँदा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असोज २६ गते बिहान मध्यबिन्दु नगरपालिका–३ ब्रह्मस्थान निवासी ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदीको किनारमा अज्ञात वस्तु फेला पारेका थिए ।

बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको र भित्री भाग फलामजस्तो देखिने उक्त वस्तु बेलनाकार रहेको थियो । करिब दुई फिट लम्बाइ र १४ इन्च गोलाइको उक्त वस्तु बोटेले घरमा ल्याएका थिए ।

बिहान करिब ११ः२० बजे भारतको मोतिहारी घर भई हाल कावासोती नगरपालिका–८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले उक्त वस्तु काट्ने क्रममा अचानक पड्किएको प्रहरीले जनाएको छ ।

वस्तु पड्किँदा बोटे र सचिन कुमार दुवै घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ । घटनामा पड्किएको वस्तु के थियो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।