काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको १ लाख ५ हजार कित्ता शेयरको लकइन आगामी कात्तिक २९ गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर वैशाख ३० गते सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनाका लागि लकइनमा रहेको थियो । लकइन अवधि सकिएपछि सामूहिक लगानीकोषहरुले उल्लेखित कित्ता शेयर कारोबार गर्न सक्नेछन् ।
यस कम्पनीले सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । सामूहिक लगानीकोषसँगै आयोजना प्रभावित स्थानीय, कर्मचारी र संस्थापक तर्फको शेयर भने वैशाख ३० गतेदेखिको मितिले तीन वर्षसम्मका लागि लकइनमा रहनेछ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ७० करोड रुपैयाँ कायम भएको छ । हाल संस्थापक तर्फ ६० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको सर्वसाधारणमा ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।
यस कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा याम्बालिङ्ग खोलाको पानी उपयोग गरि ७ दशमलव २७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाबाट २०८० फागुन ८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिएको हो । यो आयोजना निर्माणको कुल लागत भने १ अर्ब ८७ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
यस आयोजनाबाट विद्युत उत्पादन गर्न कम्पनीले २०७३ साल असोज ९ गते नेपाल सरकारको अनुमति पाएको थियो । उक्त अनुमति पत्र २१०८ साल असोज ८ गतेसम्म बहाल रहनेछ भने सो अवधिपश्चत् नेपाल सरकारलाई निशुल्क आयोजना हस्तान्तरण हुने जानकारी कम्पनीले दिएको छ ।
