काठमाडौं । माउण्टेन ईनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष पनि कम्पनीले यहि अनुपातमा लाभांश वितरण गरेका थियो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब १२ करोड ३२ लाख ५८ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएको छ । आम्रपाली ब्याङक्वेट, बालुवाटार, भाटभटेनी, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । पाँच जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
