२०८२ चैत २६ | १:१२ AM
नेशनल लाईफ इन्स्योरेन्सले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफ इन्स्योरेन्सले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

लगानीबक्स April 8, 2026 9:38 am

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने तालिम कार्यक्रम आयोजना गरेको छ।

कम्पनीले ‘मन्थन २०८२’ मासिक योजनाअन्तर्गत निर्धारित बीमाशुल्क संकलनमा उत्कृष्ट प्रदर्शन गरेका अभिकर्ताहरूलाई लक्षित गर्दै तालिम सञ्चालन गरेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी प्रदेशका केही शाखाबाट छनोट भएका करिब १६० जना अभिकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए।

महेन्द्रनगरस्थित शुक्लाफाँटामा रहेको होटल ओपेरामा आयोजित तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रमा प्रतिष्ठित मानिने एमडिआरटी (MDRT) लक्ष्य हासिल गर्ने उपायबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए।

कार्यक्रमको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नवीन किशोर भट्टले सहभागीलाई स्वागत गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले अभिकर्ताको पेशागत दक्षता विकासका लागि निरन्तर तालिम तथा योजना सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा विभिन्न शाखाबाट उत्कृष्ट प्रदर्शन गर्दै शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो।

सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिन पाएको अवसरप्रति खुशी व्यक्त गर्दै कम्पनीप्रति आभार प्रकट गरेका थिए। सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको अनुभूति व्यक्त गरेका थिए।