काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छ । र स्थलगत तथ्याङ्क सङ्कलन कार्य भएको छ।
निर्धारित कार्यतालिकाअनुसार स्थलगत तथ्य सङ्कलन आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस कार्यका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको जनाइएको छ। देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, स्वरोजगार तथा उच्च रोजगारी प्रदान गर्ने संस्थान, उद्योग, कलकारखाना,गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय र अस्पतालसमेत गणनामा समेटिने छन्।
अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक तथा आर्थिक अवस्थासँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क सङ्कलन गरिने भएकाले यस अभियानमा सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ। गणनाअन्तर्गत उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्था लगायतका कुल १८ वटा आर्थिक क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिनेछ। यस क्रममा प्रतिष्ठानको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत तथ्याङ्क संकलन गरिनेछ।
आर्थिक गणनाको पूर्वतयारीका काम गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन् भने चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी कुल ८४ कार्यालय स्थापना गरिएको थियो। ती कार्यालयहरू आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्। यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।

