काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्ने तयारी गरेको हो । बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने तयारी स्वरुप यस अघि आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको कम्पनीले वैशाख ११ गते भने छलफल कार्यक्रम आयोजना गर्न लागेको हो ।
उक्त दिन काठमाडौंको म्यारियट होटल, नागपोखरी, काठमाडौंमा दिनको ३ बजे योग्य संस्थागत लगानीकर्ताहरुसँग छलफल कार्यक्रम आयोजना गर्न लागिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरु सहभागी गराई सुझाबका लागि छलफल गर्न लागेको बताएको छ । योग्य संस्थागत लगानीकर्ताले तय गरेको आशय मूल्यका आधारमा कम्पनीको सर्वसाधारणमा जारी हुने आईपीओ मूल्य तय हुनेछ ।
योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा थप सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओ खरीद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डमा कम्पनीले हालसम्म आवेदन पेश नगरेको अवस्थामा योग्य संस्थागत लगानीकर्तामा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि कम्पनीले आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीका रुपमा रुपान्तरण गरिसकेको छ ।
नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जानकारी दिएको हो ।

