२०८३ वैशाख १० | ३:०४ PM
ट्रक महासंघले डिजेल मूल्यवृद्धि पछि  भाडा समायोजन गर्ने

ट्रक महासंघले डिजेल मूल्यवृद्धि पछि  भाडा समायोजन गर्ने

लगानीबक्स २०८३ वैशाख ३ ६:१० अपराह्न

काठमाडौं । विश्व बजारमा कच्चा तेल आपूर्तिमा देखिएको असहजताका कारण मूल्यमा भएको वृद्धि नेपालमा पनि प्रभाव पारिरहेको छ। यही क्रममा नेपाल आयल निगम ले २०८३ वैशाख २ गते रातिदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएपछि यातायात क्षेत्र प्रभावित बनेको छ।

यसै सन्दर्भमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ ले प्रेस विज्ञप्ति जारी गर्दै इन्धन मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार मूल्यवृद्धिको प्रत्यक्ष असर यातायात लागतमा पर्ने भएकाले भाडादर तत्काल समायोजन गर्न आवश्यक रहेको छ।

महासंघले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढी घटबढ हुँदा भाडादर स्वचालित रूपमा समायोजन हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेको छविज्ञप्तिमा पछिल्ला दुई पटकको मूल्यवृद्धिबाट डिजेलमा कुल ५ रुपैयाँ ५१ पैसा वृद्धि भएको उल्लेख गर्दै वर्तमान भाडादरमा सेवा सञ्चालन असम्भव बन्दै गएको बताइएको छ। महासंघले चैत २५ गते कायम भाडादरलाई वैशाख २ गतेको मूल्यवृद्धिअनुसार पुनः समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ का अनुसार पेट्रोलियम पदार्थमा लगाइएका अतिरिक्त कर हटाउन तथा मूल्य घटाउन सरकारसँग माग गरिएको छ। साथै, इन्धन खपत नियन्त्रणका लागि जोर–बिजोर प्रणाली लागू गर्न पनि सुझाव दिइएको छ।

महासंघले इन्धन मूल्यमा हुने अस्थिरताले व्यवसायीहरूलाई गम्भीर असर पारिरहेको भन्दै तत्काल नीतिगत समाधान आवश्यक रहेको जनाएको छ।