२०८३ वैशाख १० | १:३७ PM
काठमाडौँ गुण्डागर्दीमा संलग्न सहित १ हजार ९७ जनाको पृष्ठभूमि सहितको…

काठमाडौँ गुण्डागर्दीमा संलग्न सहित १ हजार ९७ जनाको पृष्ठभूमि सहितको प्रोफाइल तयार

६ महिनामा काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् भने ६२९ महिलाले पनि यस्ता घटनाबारे प्रहरीमा जानकारी गराएका छन्।

लगानीबक्स २०८३ वैशाख ४ १०:५५ अपराह्न

काठमाडौं । काठमाडौंमा आपराधिक गतिविधि नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रहरीले ठूलो संख्यामा व्यक्तिहरूको प्रोफाइल तयार पारेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत पछिल्लो कार्यसम्पादन विवरण सार्वजनिक गर्दै गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न वा संलग्न हुनसक्ने १ हजार ९७ जनाको विस्तृत प्रोफाइलिङ गरिएको जानकारी दिएको हो।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, “कुनै पनि घटनामा संलग्न भएका, संलग्न हुनसक्ने, उजुरी परेका, रेकर्डमा रहेका तथा आशंकाको घेरामा रहेका व्यक्तिहरूलाई समेटेर उनीहरूको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइल तयार गरिएको हो।” उनका अनुसार यस्तो प्रोफाइलिङले अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। प्रहरीका अनुसार असोज महिनादेखि चैत्र मसान्तसम्मको अवधिमा काठमाडौंमा मात्रै ५ हजार ५ सय ६६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ हजार २ सय ७९ जना व्यक्तिहरू पक्राउ परेर हाल अभियोजन तथा न्यायनिरूपणको प्रक्रियामा रहेका छन्। दैनिक रूपमा औसत ५० देखि ५५ वटा नयाँ उजुरी दर्ता हुने गरेको तथ्यांकले राजधानीमा अपराधको चाप अझै उच्च रहेको संकेत गर्दछ।

यस अवधिमा काठमाडौंमा देखिएको प्रमुख आपराधिक प्रवृत्तिमध्ये साइबर अपराध पनि एक प्रमुख चुनौतीका रूपमा देखिएको प्रहरीले जनाएको छ। भट्टराईका अनुसार ६ महिनाको अवधिमा मात्रै १ हजार ३ सय ३० वटा साइबर अपराध सम्बन्धी उजुरी प्राप्त भएका छन्। विशेषगरी अनलाइन सपिङमार्फत हुने ठगीका घटना सबैभन्दा बढी रहेको उनले उल्लेख गरे।

त्यसैगरी घरेलु हिंसाका घटनामा पनि उल्लेख्य वृद्धि देखिएको छ। विगतमा मुख्यतः महिलामाथि हुने हिंसाका रूपमा चिनिएको घरेलु हिंसामा अहिले पुरुष पीडितको संख्या पनि बढ्दै गएको प्रहरीले जनाएको छ। पछिल्लो ६ महिनामा काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् भने ६२९ महिलाले पनि यस्ता घटनाबारे प्रहरीमा जानकारी गराएका छन्।

प्रहरीले अपराध नियन्त्रणका लागि निगरानी, अनुसन्धान र जनचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ। साथै नागरिकहरूलाई सचेत रहन, शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन र विशेषगरी अनलाइन कारोबार गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ।