२०८३ जेठ ११ | ७:२५ PM
होर्मुज जलमार्गमा तनाव चुलियो, इरान–अमेरिका विवाद 

होर्मुज जलमार्गमा तनाव चुलियो, इरान–अमेरिका विवाद 

लगानीबक्स २०८३ वैशाख ६ ११:४० पूर्वाह्न

काठमाडौं । जलमार्गमा अनिश्चितता बढेसँगै विश्व ऊर्जा बजारमा समेत चिन्ता बढेको छ । इरान ले संयुक्त राज्य अमेरिका द्वारा आफ्ना बन्दरगाहहरूमाथि लगाइएको नौसैनिक नाकाबन्दी नहटेसम्म होर्मुज जल डमरूमध्य पूर्ण रूपमा खुला नगर्ने स्पष्ट पारेपछि मध्यपूर्व क्षेत्रमा तनाव पुनः चुलिएको छ ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि मुख्य विषयहरूमा गहिरो मतभेद कायम रहेको बताएका छन् । उनका अनुसार तत्काल शान्ति सम्झौता हुने सम्भावना कम रहेको छ र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग सकारात्मक वार्ता भइरहेको दाबी गर्दै दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिएका छन् । उनले इरानले जलमार्ग प्रयोग गरेर अन्तर्राष्ट्रिय समुदायलाई दबाबमा राख्न खोजेको आरोप समेत लगाएका छन् ।

विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले होर्मुज जलमार्गको अवस्था विश्व बजारका लागि अत्यन्त संवेदनशील मानिन्छ । केही समयअघि खुला गरिएको जलमार्ग पुनः सीमित हुन सक्ने संकेतले तेल आपूर्तिमा अवरोधको आशंका बढेको छ ।

तनावबीच इरानको रिभोलुसनरी गार्ड्सले अनुमति बिना जलमार्ग पार गर्ने जहाजलाई कारबाही गर्ने चेतावनी दिएको छ । हालैका घटनामा केही जहाजमाथि आक्रमण र धम्कीका विवरण सार्वजनिक भएका छन्, जसले समुद्री सुरक्षाप्रति चिन्ता थपेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्व, विशेषगरी लेबनान र इजरायल बीचको तनावले स्थिति थप जटिल बनाएको छ । कूटनीतिक प्रयास जारी रहे पनि स्थायी समाधान अझै अनिश्चित देखिएको छ ।