काठमाडौं । एभरेष्ट कलर भलिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणका निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये पहिलो चरणमा १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन हुनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा कम्पनीको आईपीओ छिटोमा वैशाख २२ गतेसम्म र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख ३० गतेसम्म निष्कासनमा रहनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबनन्धमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयसँगै मेरो शेयर अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीहरु सरह उच्च गुणस्तरीय पेन्ट उत्पादन तथा विक्री वितरा गर्दै आएको छ । नेपालको पहिलो पेन्ट उद्योगको रुपमा यो कम्पनीले सबै बर्गका उपभोक्ताको आवश्यकता र नेपाली हावापानीलाई ध्यानमा राखी प्रिमियमदेखि इकोनोमी ब्राण्डसम्मका विविध प्रकारका रंगहरु उत्पादन गर्दै आएको छ ।
कम्पनीले सञ्चालन गरेको उद्योगको कर्पोरेट कार्यालय भक्तपुरको कौशलटारमा रहेको र भने उद्योगको कारखाना चितवन जिल्लाको खैरहनीमा छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी ९० लाख ३७ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९७ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६० पैसा छ ।

