काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप भएको छ । वैशाख १३ गतेसम्म माग बमोजिम आवेदन पर्ने सम्भावना नदेखिएपछि कम्पनीले वैशाख २८ गतेसम्मको मिति थप गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गरिएको हो । प्रतिशेयर १०० रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन पेश गर्न सकिने व्यवस्था छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । हकप्रदबाट प्राप्त पूँजी कम्पनीले आयोजना निर्माण तथा सञ्चालनका लागि लिइएको ऋण भुक्तानीका लागि प्रयोग गर्ने जानकारी कम्पनीले दिएको छ ।

