२०८३ जेठ ११ | ११:४५ AM
आशा जगाउने बजेट आउँदै : अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट आउँदै : अर्थमन्त्री वाग्ले

“सरकारको स्रोत सीमित छ, निजी क्षेत्रको लगानीले नै अर्थतन्त्रलाई गतिशील बनाउँछ,”

लगानीबक्स २०८३ वैशाख २१ ६:०० अपराह्न

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने खालको बजेट ल्याइने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधार बनाउने सरकारको नीति स्पष्ट रहेको बताए। आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारमा निजी क्षेत्रको भूमिका निर्णायक हुने उनको भनाइ छ।

उनले करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको उल्लेख गरे। “सरकारको स्रोत सीमित छ, निजी क्षेत्रको लगानीले नै अर्थतन्त्रलाई गतिशील बनाउँछ,” उनले भने।

सरकारको खर्च कुल गार्हस्थ उत्पादन (जीडिपी) को करिब २५देखि ३० प्रतिशत मात्र रहेको र बाँकी आर्थिक गतिविधि निजी क्षेत्रमार्फत सञ्चालन हुँदै आएको उनले जानकारी दिए।

आर्थिक विकासमा अवरोध बनेका करिब दुई दर्जन कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताए। साथै, राजस्व प्रशासन सुधारलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे।

मन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रको अवधारणाअनुसार नीति निर्माण गरिने बताउँदै निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गरिने जानकारी दिए। शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गर्ने सरकारको योजना रहेको उनले बताए।