काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको दोस्रो चरणमा थप सर्वसाधारणका लागि जेठ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरि दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशतले हुने ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । यी वाहेक पनि कम्पनीले १ लाख ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरि बाँकी रहेको २८ लाख ७० हजार कित्ता आईपीओ थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
थप सर्वसाधारणमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्नुपर्नेछ । यो आईपीओ निष्कासन बन्द छिटोमा जेठ १३ गतेका लागि तय गरिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २२ गतेसम्म निष्कासन लम्बिनेछ । तर सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमानै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र निष्कासनमा रहने निश्चित छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन पेश गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्काशसनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीइ दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले बझाङ्ग जिल्लामा १५ दशमलव ३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाबाट कम्पनीले २०७९ साल माघ २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । उक्त आयेजना निर्माणको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष ०८१/८२ सम्म कम्पनी १ करोड ३१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ भने सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ५६ पैसा छ । यो अवधिसम्म कम्पनी १ रुपैयाँ ४८ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ ।

