काठमाडौं । सिद्धार्थ क्यापिटलले बैशाख २१ गतेदेखि निष्कासन गरेको सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिद गर्ने अवधि लम्बिएको छ । छिटो अवधि वैशाख २४ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि जेठ ४ गतेसम्म निष्कासन लम्बिने जानकारी योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले दिएको हो ।
तोकिएको अवधि अघिनै माग बमोजिम आवेदन प्राप्त भएमा जुनसुकै दिन निष्कासन बन्द गरिने जानकारी कम्पनीले दिएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याएको हो । यस योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल १० करोड इकाईको न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको इकाई भने सार्वजनिक निष्कसानमार्फत विक्री गर्न लागिएको हो । यी इकाई खरीदका लागि यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । योजना व्यवस्थापकसँगै योजनाको इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि ससद्धार्थ क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।
बन्दमुखी प्रकृतिको यो योजना १२ वर्ष अवधिको रहेको छ । बन्दमुखी प्रकृतिको योजना भएकाले यी इकाईहरु दोस्रो बजारमा सूचीकृत हुने हुँदा कारोबार समेत गर्न मिल्नेछ ।

