काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान (NCPA) को आयोजनामा आज वैशाख २६ गते लुगादान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पुन प्रयोग गर्न योग्य लुगाहरू सङ्कलन गरी प्रतिष्ठानका कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूले संयुक्त रूपमा करिब चार क्विन्टलभन्दा बढी लुगाहरू हस्तान्तरण गरेका हुन्। उक्त लुगाहरू विशेष कार्यक्रमका बीच गीत–सङ्गीत तथा संस्थागत क्षेत्रमा आबद्ध विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कमल जीसी लाई प्रदान गरिएको जनाइएको छ।
“कोही पनि नेपाली लुगाको अभावमा नाङ्गो बस्नु नपरोस् र लुगाको अभावमा कठ्याङ्ग्रिएर ज्यान गुमाउन नपरोस्” भन्ने मूल नारासहित प्रतिष्ठानले सञ्चालन गरेको यस अभियानलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको मानिएको छ।
प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै गीत–सङ्गीत तथा कलाकारिता क्षेत्रमा आबद्ध सम्पूर्ण संघ–संस्था, कलाकार तथा व्यक्तित्वहरूलाई यस मानवीय अभियानमा सहकार्य र सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ।
“समाजका लागि कलाकार र कलामैत्री समाज” भन्ने परिकल्पनालाई आत्मसात गर्दै अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजान सबै पक्षसँग हातेमालो गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै प्रतिष्ठानका महासचिव सनम कठायत ले सामाजिक सेवामूलक अभियानलाई अझ व्यापक बनाइने बताएका छन्।

