काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गते निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर वैशाख २८ गते (आज) सम्म मात्र निष्कासनमा रहने छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद शेयर निष्कासनका लागि कमपनीले फागुन १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यस अघि वैशाख १३ गतेसम्मको निष्कासन मिति तय गरेको कम्पनीले अवधि थप गरी वैशाख २७ गतेसम्म कायम गरेको थियो ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै शेयरधनीहरुले कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईनमार्फत पनि आवेदन पेश गर्न सकिनेछ ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्कासनबाट संकलित रकम कम्पनीले आयोजना सञ्चालनका लागि लिएको ऋणहरुको आंशिक भुक्तानी गर्न प्रयोग गर्ने बताएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस कम्पनीले २ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीले वित्तीय खर्च शिर्षकमा ४ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्चिएको छ । रिटर्न अर्निग ७ करोड ८९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको दिर्घकालिन कर्जा ९० करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको छ भने अल्पकालिन कर्जा ७ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस कम्पनीको दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी १० रुपयाँ २१ पैसा र प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ५७ पैसा छ ।

