काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले वैशाख २४ गतेदेखि निष्कासन गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने अवधि थप भएको छ । छिटो अवधि वैशाख २९ गतेसम्म माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधि जेठ ७ गतेसम्मको निष्कासन मिति थप भएको हो । यो मितिभन्दा अघिनै मागभन्दा बढी आवेदन प्राप्त भएमा जुनसुकै दिन निष्कासन बन्द हुने जानकारी क्यापिटलले दिएको छ । यस योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ भने सार्वजनिक निष्कासनमा आएको हो ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सक्नेछन् । आवेदनका लागि सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।

