२०८३ जेठ ११ | ६:३८ PM
नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालमा जोडियो

नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालमा जोडियो

लगानीबक्स २०८३ वैशाख २९ ३:०६ अपराह्न

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल ले नेपालमा पहिलोपटक ‘चाइम’ (CHIME) बैठक आयोजना गरेको छ । मे ८ मा सम्पन्न कार्यक्रममा देशभरका १५ निजी तथा सरकारी अस्पतालका स्वास्थ्य सूचना प्रविधि विज्ञहरूको सहभागिता रहेको थियो ।

बैठकसँगै नेपाल औपचारिक रूपमा ‘चाइम भारत अध्याय’को उप–अध्यायमा आबद्ध भएको छ । यससँगै नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरू विश्वव्यापी डिजिटल स्वास्थ्य सञ्जालसँग जोडिने भएका छन् ।

‘चाइम’ डिजिटल स्वास्थ्य नेतृत्व तथा स्वास्थ्य सूचना प्रविधिको विकासमा कार्यरत विश्वव्यापी गैर–नाफामूलक संस्था हो । कार्यक्रममा “चाइम नेपाल समुदाय” समेत गठन गरिएको छ । यो समुदाय स्वास्थ्य सूचना प्रविधि क्षेत्रका पेशाकर्मीहरूको व्यावसायिक सञ्जालका रूपमा सञ्चालन हुने बताइएको छ ।

नेपाल मेडिसिटीका प्रमुख डिजिटल तथा सूचना अधिकृत तथा चाइम भारत अध्यायका सदस्य सुधाकर राई ले चाइमसँगको सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सूचना प्रणालीसँग जोड्ने अवसर मिलेको बताए ।

उनका अनुसार अब नेपाली स्वास्थ्य सूचना प्रविधि विज्ञहरूले विश्वस्तरीय ज्ञान, प्रविधि तथा अनुभवमा प्रत्यक्ष पहुँच पाउनेछन् । समुदायमार्फत डिजिटल स्वास्थ्य, साइबर सुरक्षा, दूरस्वास्थ्य सेवा, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय प्रमाणपत्र कार्यक्रमसम्बन्धी जानकारी र अवसर उपलब्ध गराइने जनाइएको छ ।

कार्यक्रममा भारतका विभिन्न अस्पतालका स्वास्थ्य सूचना प्रविधि विज्ञहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए । चाइम भारत अध्यायले नेपालको डिजिटल स्वास्थ्य रूपान्तरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

यसअघि पनि नेपाल मेडिसिटीले स्वास्थ्य प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको थियो । हालै भारतको हैदराबादमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अस्पतालले ‘एक्सिलेन्स इन रिमोट हेल्थ केयर’ पुरस्कार प्राप्त गरेको थियो ।

उक्त पुरस्कार दूरस्वास्थ्य सेवा, टाढाबाट गरिने चिकित्सकीय परामर्श, सघन उपचार कक्षको दूरसेवा तथा स्मार्ट अस्पताल प्रणालीमा अस्पतालले दिएको योगदानको कदरस्वरूप प्रदान गरिएको अस्पतालले जनाएको छ ।