२०८३ जेठ ११ | १:१८ PM
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सम्वन्धमा नेपाल तयारी…

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सम्वन्धमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष श्री पशुपति देव पाण्डेको धारणा

“स्टार्टअप नेपाल पोर्टल” मार्फत एउटै डिजिटल माध्यमबाट कम्पनी दर्ता, कर छुट तथा बिउ पुँजीजस्ता सेवाहरू उपलब्ध गराउने व्यवस्था नवउद्यमीहरूका लागि उपयोगी हुनेछ।

लगानीबक्स २०८३ वैशाख ३१ ९:१८ पूर्वाह्न

काठमाडौं  । नेपाल सरकारद्वारा सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा समावेश गरिएका आर्थिक सुधार, औद्योगिक प्रवर्द्धन, डिजिटल रूपान्तरण, निर्यात अभिवृद्धि तथा लगानीमैत्री व्यवस्थासम्बन्धी कार्यक्रमहरुलाई नेपाल तयारी पोशाक उद्योग संघले सकारात्मक तथा आशावादी कदमका रूपमा स्वागत गरेकोछ ।

नेपाल तयारी पोशाक उद्योग संघले विशेषगरी “लगानी एक्सप्रेस नीति” मार्फत व्यवसाय दर्तादेखि निर्माण अनुमति, उद्योग सञ्चालन तथा अन्य प्रशासनिक प्रक्रियाहरूलाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने सरकारी प्रतिबद्धताले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ। लामो समयदेखि उद्योग व्यवसायले भोग्दै आएको प्रक्रियागत जटिलता, ढिलासुस्ती तथा बहुनिकाय समन्वयको समस्यालाई समाधान गर्न यस प्रकारको नीति प्रभावकारी हुने अपेक्षा समेत गरेकोछ ।

त्यसैगरी, स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन “राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा” स्थापना गर्ने घोषणा उद्योग तथा उद्यमशीलताको विकासका लागि महत्वपूर्ण पहल भएको संघको धारणा रहेको छ। यसले नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्नुका साथै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने हाम्रो विश्वास लिएकोछ ।

संघले विशेष रूपमा “ग्रीन गार्मेन्ट भिलेज” सहित विशेष औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम विस्तार गर्ने सरकारी घोषणालाई ऐतिहासिक र अत्यन्त उत्साहजनक निर्णयका रूपमा लिएको छ। विगत चार दशकदेखि तयारी पोशाक उद्योग क्षेत्रले उठाउँदै आएको यो माग सम्बोधन हुनु उद्योगीहरूका लागि सकारात्मक सन्देश हो। यसबाट काठमाडौं उपत्यका तथा अन्य स्थानमा छरिएर रहेका साना तथा मझौला तयारी पोशाक उद्योगहरूलाई व्यवस्थित औद्योगिक संरचनाभित्र ल्याउन सहयोग पुग्नेछ। साथै, विदेशी खरिदकर्ता तथा अन्तर्राष्ट्रिय ग्राहकहरूलाई उद्योगसम्म सहज पहुँच, उत्पादन अवलोकन तथा व्यापारिक समन्वय गर्न सुविधा पुग्ने अपेक्षा गरिएको छ। यसले औद्योगिक पर्यटन,  शैक्षिक तथा व्यावसायिक भ्रमणलाई समेत प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

सूचना प्रविधि क्षेत्रलाई “राष्ट्रिय रणनीतिक उद्योग” घोषणा गरी  डिजिटल व्यापारलाई प्रोत्साहन गर्ने नीति नेपाललाई आधुनिक र प्रतिस्पर्धी अर्थतन्त्रतर्फ उन्मुख गराउने महत्वपूर्ण आधार भएकोले  डिजिटल प्लेटफर्ममार्फत विदेशी मुद्रा आर्जनका सम्भावनाहरू विस्तार हुने अपेक्षा गर्दछौ। साथै, “स्टार्टअप नेपाल पोर्टल” मार्फत एउटै डिजिटल माध्यमबाट कम्पनी दर्ता, कर छुट तथा बिउ पुँजीजस्ता सेवाहरू उपलब्ध गराउने व्यवस्था नवउद्यमीहरूका लागि उपयोगी हुनेछ।

अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिने घोषणा निर्यात व्यापार, सेवा निर्यात, फ्रीलान्सिङ तथा डिजिटल कारोबारका लागि अत्यन्त महत्वपूर्ण कदम भएकोले यसबाट विदेशी मुद्रा आर्जन, अन्तर्राष्ट्रिय कारोबार तथा कर व्यवस्थापन थप सहज र पारदर्शी बन्ने अपेक्षा छ ।

स्वदेशी उत्पादनको ब्रान्डिङ, प्रमाणीकरण तथा निर्यात प्रवर्द्धन गर्ने नीति नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोगी हुने विश्वास संघले लिएको छ। विशेष पहिचान भएका नेपाली उत्पादनहरूको मूल्य अभिवृद्धि तथा विश्व बजारमा पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गर्दछौ। त्यसैगरी, “नेपाल व्यापार एकीकृत रणनीति” तथा “व्यापार घाटा न्यूनीकरण कार्ययोजना” को प्रभावकारी कार्यान्वयन प्रति सरकारको जोडले निर्यातमुखी उद्योगहरूलाई थप प्रोत्साहन मिल्ने देखिएको छ।

 

नेपाललाई आगामी दशकभित्र सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने उद्देश्यसहित औसत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, डिजिटल तथा नगदरहित अर्थतन्त्र निर्माण, रोजगार प्रवर्द्धन दशक घोषणा, नयाँ राष्ट्रिय रोजगार नीति तथा सुशासन सुधारसम्बन्धी कार्यक्रमहरूले समग्र निजी क्षेत्र र उद्योग व्यवसायमा सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ।

नेपाल तयारी पोशाक उद्योग संघ सरकारद्वारा घोषणा गरिएका यी नीति तथा कार्यक्रमहरू प्रभावकारी र व्यवहारिक रूपमा कार्यान्वयन हुने अपेक्षा व्यक्त गर्दछ। नीतिगत घोषणाहरूलाई शीघ्र कार्यान्वयनमा रूपान्तरण गर्न सके उद्योग, लगानी, उत्पादन, रोजगारी सिर्जना तथा निर्यात अभिवृद्धिमा उल्लेखनीय सकारात्मक परिणाम प्राप्त हुने संघको विश्वास रहेको छ।

संघ नेपाल सरकारसँग निरन्तर सहकार्य गर्दै नेपाली तयारी पोशाक उद्योगको विकास, स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा नेपालको निर्यात व्यापार अभिवृद्धिमा सक्रिय योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जानकारी समेत गरेकोछ ।