२०८३ जेठ ११ | ५:२४ PM
माउन्टेन ड्यु प्रकरणः मन्त्री चौधरीको निर्देशनमा बरुण बेभरेजमाथि छानबिन

माउन्टेन ड्यु प्रकरणः मन्त्री चौधरीको निर्देशनमा बरुण बेभरेजमाथि छानबिन

ब्याच नम्बर १६८ को बिक्री रोक

लगानीबक्स २०८३ जेठ १ १२:३० अपराह्न

काठमाडौं । काठमाडौंको तारकेश्वरमा माउन्टेन ड्यु पिउनासाथ एक उपभोक्ता बिरामी परेको घटनाप्रति कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले गम्भीर चासो व्यक्त गर्दै तत्काल कडा कारबाही र अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई नभएको बताउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई एक्सनमा उत्रन निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीको निर्देशन लगत्तै विभागको ‘¥यापिड रेस्पोन्स टिम’ ले उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिमा पुगेर प्रारम्भिक छानबिन सुरु गरेको छ । यस्तै, उपभोक्ता बिरामी परेको उक्त ब्याच नम्बर १६८ (उत्पादन मितिः ०३/०४/२६) को २५० मिलिलिटर प्याकका सम्पूर्ण उत्पादनहरू बिक्री वितरणमा तत्काल रोक लगाउन मन्त्री चौधरीले कडा आदेश दिनुभएको छ ।

मन्त्रीको निर्देशन बमोजिम विभागले बरुण बेभरेजलाई उक्त ब्याचमा प्रयोग भएका कच्चापदार्थको विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण रेकर्ड ५ दिनभित्र पेस गर्न पत्रचार समेत गरिएको छ ।

अनुगमन टोलीले उद्योगको गोदाममा सोही ब्याचको बाँकी रहेको १ क्रेट (२४ बोतल) बरामद गरी नमुना संकलन गरेको छ र त्यसलाई प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। “नागरिकको भान्छा र स्वास्थ्य सुरक्षित राख्नु सरकारको प्राथमिकता हो। प्रयोगशालाको रिपोर्टमा कैफियत देखिएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कम्पनीलाई हदैसम्मको कारबाही गरिनेछ । ” मन्त्री चौधरीले भन्नुभयो ।

मन्त्री चौधरीले प्रयोगशालाको अन्तिम रिपोर्ट नआएसम्म उक्त ब्याचका कुनै पनि पेय पदार्थ बजारमा नपठाउन र आफ्ना डिलरहरूलाई समेत यसको जानकारी गराउन कम्पनीलाई कडा निर्देशन दिनुभएको छ ।