२०८३ जेठ ११ | ४:०९ PM
इबोला भाइरस संकटले कंगोमा ८० जनाको मृत्यु

इबोला भाइरस संकटले कंगोमा ८० जनाको मृत्यु

लगानीबक्स २०८३ जेठ ३ ५:१५ अपराह्न

काठमाडौं । अफ्रिकी मुलुक कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु भएको छ भने २४६ वटा शंकास्पद संक्रमित फेला परेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकालका रूपमा घोषणा गरे पनि यसलाई अझै महामारीको स्तरमा नपुगेको जनाएको छ।

कंगोका स्वास्थ्य मन्त्री स्यामुएल–रोजर कम्बाका अनुसार संक्रमणको पहिलो केस एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा संक्रमित पुष्टि भएका छन्।

यो संक्रमण इटुरी प्रान्तअन्तर्गत बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिएको छ। सन् १९७६ मा पहिलोपटक इबोला देखिएको कंगोमा यो १७औँ प्रकोप हो। विशेषज्ञहरूले यसपटक देखिएको ‘बुन्डिबुग्यो’ स्ट्रेनले थप चुनौती सिर्जना गरेको बताएका छन्। यसअघि प्रयोग हुँदै आएका अधिकांश खोप र उपचार ‘जायरे’ स्ट्रेनलाई लक्षित गरेर विकास गरिएकाले नयाँ स्ट्रेन नियन्त्रणमा कठिनाइ हुन सक्ने चिन्ता बढेको हो।

स्थानीय बासिन्दाका अनुसार बुनिया क्षेत्रमा लगातार मृत्युका घटना बढिरहेका छन्। कतिपय दिन एकैदिन दुईदेखि तीन जनासम्मको अन्त्येष्टि गर्नुपर्ने अवस्था रहेको जनाइएको छ। यद्यपि, बजार र सार्वजनिक गतिविधि भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।इबोला संक्रमण छिमेकी मुलुकहरूमा फैलिने जोखिम पनि बढेको छ। युगान्डामा एक संक्रमितको मृत्यु पुष्टि भइसकेको छ भने अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा उच्च जोखिम रहेको चेतावनी दिएको छ। केन्याले समेत सीमा नाकामा निगरानी कडा बनाएको छ।

इबोला संक्रमित व्यक्तिको रगत, वान्ता तथा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्ने अत्यन्त घातक रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाबाट संक्रमितमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम रहन्छ।सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप इतिहासकै सबैभन्दा ठूलो मानिन्छ, जसमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। पछिल्ला वर्षहरूमा खोप र उपचार विकास भए पनि नयाँ–नयाँ स्ट्रेन देखिँदा चुनौती कायम रहेको विज्ञहरूले बताएका छन्।