काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको सात अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै २०२६ मे २२ देखि २०२७ मे २२ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा रकम राख्न इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
सूचनाअनुसार कुल सात अर्ब रुपैयाँमध्ये ‘क’ वर्गका वाणिज्य बैंकका लागि पाँच अर्ब ६० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकका लागि एक अर्ब पाँच करोड रुपैयाँ तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीका लागि ३५ करोड रुपैयाँ छुट्याइएको छ ।
राष्ट्र बैंकले तोकेको फारम भरेर पीडीएफ ढाँचामा पासवर्ड सुरक्षित गरी २०८३ जेठ ६ गते साँझ ७ बजेसम्म इमेलमार्फत प्रस्ताव पठाउनुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावको पासवर्ड भने जेठ ७ गते बिहान १० बजेसम्म पठाउनुपर्ने उल्लेख गरिएको छ ।
मुद्दती निक्षेप लिन चाहने संस्थाले कम्तीमा दुई वर्ष सञ्चालन पूरा गरेको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने तथा निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जाको ८ प्रतिशत र खुद एनपीएल ३ प्रतिशतभन्दा कम हुनुपर्ने सर्त राखिएको छ ।
त्यस्तै, खुद तरल सम्पत्ति अनुपात, कर्जा-निक्षेप अनुपात तथा नाफाको अवस्था पनि राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार हुनुपर्नेछ । शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणा भएको संस्था भए कम्तीमा ६ महिना फुकुवा भएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
राष्ट्र बैंकले प्रस्ताव गरिएको ब्याजदर तोकिएको अवधिसम्म कायम रहने र त्यसबीच सार्वजनिक हुने ब्याजदरसम्बन्धी सूचनाले असर नगर्ने जनाएको छ।

