२०८३ जेठ ११ | १:१४ PM
धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक

लगानीबक्स २०८३ जेठ ५ ९:४५ अपराह्न

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिएका ४७ उम्मेदवारमध्ये ४ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको छ। छनोट समितिले प्रारम्भिक मूल्याङ्कनपछि योग्य ठहरिएका चार जनालाई अन्तिम चरणको छलफलका लागि अघि बढाएको हो।

छनोट समितिका अनुसार संक्षिप्त सूचीमा परेका व्यक्तिहरूमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट रहेका छन्।

समितिले उनीहरूलाई आगामी जेठ ८ गते हुने छलफल तथा प्रस्तुतीकरणका लागि औपचारिक रूपमा बोलाएको छ। सो छलफलपछि अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ।

सिफारिस समितिको संयोजकमा योजना आयोगका सदस्य प्राडा सञ्चय आचार्य तथा सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र  विज्ञको रुपमा पूर्वबैंकर भुवन कुमार दाहाल छन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद पुँजी बजार नियमन, लगानीकर्ताको विश्वास वृद्धि तथा बजार विकाससँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण पद भएकाले छनोट प्रक्रिया उच्च चासोका साथ हेरिएको छ।

सर्टलिस्टमा परेका डा. अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन्। उनले करिब एक महिनाअघि अवकाश पाएका थिए। यसअघि पनि उनी सेबोन अध्यक्षका लागि सिफारिसमा परेका थिए।

यस्तै, विनयदेव आचार्य हाल सेबोनका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट भने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। क्षेत्रीले राष्ट्र बैंकको प्रतिनिधिका रूपमा सेबोन सञ्चालकको जिम्मेवारी समेत सम्हालेका थिए।

यसअघि ४७ जनाले आवेदन दिएका थिए, जसमा विभिन्न क्षेत्रका अनुभवी अर्थविद्, बैंकिङ तथा पूँजी बजार विज्ञहरू समावेश रहेका थिए। प्रारम्भिक मूल्याङ्कनका आधारमा चार जनालाई मात्र संक्षिप्त सूचीमा समावेश गरिएको हो।

अब छनोट समितिले अन्तिम चरणको छलफल तथा मूल्याङ्कनपछि बोर्डको नयाँ अध्यक्षका लागि नाम सिफारिस गर्नेछ, जसअनुसार सरकारले औपचारिक नियुक्ति गर्नेछ।