काठमाडौँ । सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समितिले आज सोमबार मात्रै ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । विभिन्न ३ वटा सहकारीका उक्त बचतकर्ताको रकम फिर्ता गरिएको समितिले जनाएको छ।
सरकारले पहिलो चरणमा १० हजार भन्दा कम बचत भएका बचतकर्ताहरुको रकम फिर्ता सुरु गरेको हो । सोमबार मात्रै १३ लाख ९९ हजार २१६ रुपैयाँ फिर्ता गरिएको हो ।
कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो । आज सोमबार पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए थियो ।
समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ फँसेको छ । जसमध्ये अधिकांश साना बचतकर्ता छन् । समितिले पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ । पाँच लाखसम्म बचत गर्ने ५८ हजार जना र पाँच लाखभन्दा बढी बचत गर्ने १८ हजार जना बचतकर्ता रहेका छन् ।
सरकारले हाल बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा गरिरहेको छ। हालसम्म समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड भन्दा बढी ऋण फिर्ता गरिसकेका छन् । समितिले केही दिन अघि समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गरेको थियो । उनीहरुबाट रकम असुल गर्दै पीडित पचतकर्तालाई फिर्ता गर्दै जाने सरकारको योजना रहेको छ ।

