२०८३ जेठ ११ | १२:२८ PM
सर्वोच्चको आदेशपछि इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ नियमित काममा फर्किए

सर्वोच्चको आदेशपछि इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ नियमित काममा फर्किए

लगानीबक्स २०८३ जेठ ७ ३:५१ अपराह्न

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) सर्वोच्च अदालतको आदेशपछि पुनः नियमित कार्यमा फर्किएको जनाएको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार मिति २०८३ वैशाख २९ गते ऋणी स्मार्ट टेलिकमको कर्जा असुली प्रक्रियाअन्तर्गत सम्पन्न धितो लिलामीसम्बन्धी कार्यलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीईओलाई नियन्त्रणमा लिएको थियो ।

बैंकका अनुसार उक्त विषयमा सुनुवाइ गर्दै सम्मानित सर्वोच्च अदालतले २०८३ जेठ १ गते सीईओलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि सीईओले सोही मितिबाट बैंकको नियमित कार्य सञ्चालन सुरु गरेको बैंकले जनाएको छ । विज्ञप्तिमा बैंकले अदालतको फैसलाप्रति उच्च सम्मान व्यक्त गर्दै आफू सदैव कानुनको शासन र न्यायपालिकाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ । साथै, नियमनकारी निकायको निर्देशनको पूर्ण पालना गर्दै अनुसन्धान निकायलाई आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले प्रचलित कानुनको अधिनमा रही सम्पादन गरिएका सम्पूर्ण कामकारबाही निक्षेपकर्ता, लगानीकर्ता, सेयरधनी तथा सम्पूर्ण सरोकारवालाको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरेको छ । हाल आएको अदालतको आदेशले बैंकलाई अझ दृढताका साथ काम गर्न ऊर्जा, आत्मविश्वास र हौसला प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस कठिन परिस्थितिमा बैंकप्रति विश्वास, सहयोग र ऐक्यबद्धता जनाउने नियामक निकाय, विभिन्न पेशागत संघ–संगठन, ग्राहक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।