२०८३ जेठ ११ | १२:२८ PM
देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक, इभी पनि बन्द

देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक, इभी पनि बन्द

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) ले दिएको विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ ।

लगानीबक्स २०८३ जेठ ८ ९:२० पूर्वाह्न

काठमाडौँ । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्णरूपमा रोकिएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनेको हो ।

बढ्दो वायु प्रदूषण, सडकमा सवारीको चाप (ट्राफिक जाम) र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको विभागको भनाइ छ । इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने पत्रमा उल्लेख छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) ले दिएको विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ । उक्त कानुनी प्रावधानमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति र सार्वजनिक हितलाई ध्यानमा राखेर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्का गर्न आदेश दिन सक्ने व्यवस्था छ । सवारी दर्ता रोक्का ईभीका सार्वजनिक सवारी साधनको हकमा समेत लागू हुनेछ ।

सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने स्पष्ट पारेको छ । यो निर्णयसँगै अब अर्को व्यवस्था नभएसम्म देशभर कुनै पनि प्रकारका विद्युतीय गाडी (इलेक्ट्रिकसहित) नयाँ सार्वजनिक सवारी साधन दर्ता हुने छैनन् ।

Oplus_131072