२०८३ जेठ ११ | ११:४५ AM
जेठ २२ गतेदेखि अन्तिम चरणको आईपीओ निष्कासन गर्दै एभरेष्ट कलर

जेठ २२ गतेदेखि अन्तिम चरणको आईपीओ निष्कासन गर्दै एभरेष्ट कलर

लगानीबक्स २०८३ जेठ १० ११:३५ पूर्वाह्न

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि अन्तिम चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्दा १० प्रतिशत शेयर अनिवार्य रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गर्नुपर्ने व्यवस्था बमोजिम पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७९ हजार कित्ता शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख २९ गते बाँडफाँट गरेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशतका दरले हुने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले   ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि समेत बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले थप सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । थप सर्वसाधारणमा निष्कासन हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । थप सर्वसाधारणमा कम्पनीको आईपीओ छिटोमा जेठ २७ गतेसम्म निष्कासन हुनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि असार ५ गतेसम्म निष्कासन लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन पेश गर्नुपर्नेछ । यो आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीले विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीहरु सरह उच्च गुणस्तरीय पेन्ट उत्पादन तथा विक्री वितरा गर्दै आएको छ । नेपालको पहिलो पेन्ट उद्योगको रुपमा यो कम्पनीले सबै बर्गका उपभोक्ताको आवश्यकता र नेपाली हावापानीलाई ध्यानमा राखी प्रिमियमदेखि इकोनोमी ब्राण्डसम्मका विविध प्रकारका रंगहरु उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन गरेको उद्योगको कर्पोरेट कार्यालय भक्तपुरको कौशलटारमा रहेको र भने उद्योगको कारखाना चितवन जिल्लाको खैरहनीमा छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी ९० लाख ३७ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९७ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६० पैसा छ ।