२०८३ असार २८ | १०:४१ AM
स्नो रिभर्सको आईपीओ थप सर्वसाधारणमो बाँडफाँट 

स्नो रिभर्सको आईपीओ थप सर्वसाधारणमो बाँडफाँट 

लगानीबक्स २०८३ जेठ १२ १२:११ अपराह्न

काठमाडौं । स्नो रिभर्स लिमिटेडले थप सर्वसाधारणमा निष्कासन गरेको आईपीओ जेठ १२ गते बुधवार बाँडफाँट भएको छ । कम्पनीले अन्तिम चरणमा गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म थप सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । सो अवधिभित्र रितपूर्वक आवेदन दिएका २५ लाख ५७ हजार ८५५ जना आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा भाग्यमानी ७७ हजार ८१२ जनाले मात्र कम्पनीको आईपीओ पाएका छन् । यी मध्ये ५ जनाले भने ११ कित्तासम्म र बाँकीले १० कित्ताका दरले आईपीओ हात पारेका छन् । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ खरीदका लागि २६ लाख १ हजार ८४८ जनाको आवेदन परेको थियो ।

यस कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ दरका १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । यीमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयमा , ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा र १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीहरूमा समेत बाँडफाँट गरिसकिएको छ।

यस कम्पनीले ताप्लेजुङ्ग जिल्लामा १३ दशमलव ५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०८१ पुस ५ गतेदेखि व्यापारिक उत्पादन शुरु भएको यस आयोजना निर्माणको कुल लागत २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी छ । यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र वहाल रहने अवधि २०७८ साल कात्तिक १२ गतेदेखि २११३ साल कात्तिक ११ गतेसम्म बहाल रहेको छ ।