२०८३ असार ८ | १०:२६ AM
नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम

लगानीबक्स २०८३ जेठ १३ ३:५० अपराह्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुति गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत सेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । प्रशिक्षक डा. नेपालले सम्पत्ति सुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान र अन्तर्राष्ट्रिय रूपमा भइरहेको गतिविधिका विषयमा विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सम्पत्ति सुद्धीकरण अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण पक्षका रूपमा रहेको बताउँदै प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा व्यक्त गरे । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पत्ति सुद्धीकरणसम्बन्धी प्रचलित कानुनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमा जोड दिँदै नियामकीय आवश्यकताहरूलाई केवल नीतिगत स्तरमा मात्र नभई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू भइरहेको बताए । कम्पनीले प्रशिक्षणबाट व्यवहारिक ज्ञान प्राप्त गर्दै वित्तीय अपराधहरू न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन सहयोग पुगेको जनाएको छ ।