काठमाडौं । बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंक बीच नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र विशेषगरी महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ ।
दुवै संस्थाबीच भएको सहकार्यअन्तर्गत लक्ष्मी सनराइज बैंकले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ । बैंकका अनुसार कुल कर्जा सुविधामध्ये ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिनेछ ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा एमएसएमई क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी दिएको छ । तर, विश्व बैंक र नेपाल राष्ट्र बैंक को तथ्यांकअनुसार औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत एमएसएमईले मात्रै कर्जा सुविधा पाउन सकेका छन् । वित्तीय संस्थाको सीमित पहुँच, कर्जा प्रक्रियाको जटिलता तथा उद्यमीको आवश्यकताबीचको असन्तुलनका कारण अधिकांश साना व्यवसाय अझै पनि औपचारिक बैंकिङ सेवाबाट बाहिर रहेका छन् ।
बैंकका अनुसार नयाँ कर्जा सुविधाले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराउँदै रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र समावेशी निजी क्षेत्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लक्ष्मी सनराइज बैंकलाई महिलाको आर्थिक सशक्तीकरण प्रवर्द्धन गर्ने विश्वव्यापी पहल टु एक्स च्यालेन्ज अन्तर्गत मान्यता पनि प्राप्त भएको छ । उक्त पहलको संस्थापक सदस्यसमेत रहेको ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टले बैंकको सुशासन, नेतृत्व, रोजगारी तथा कर्जा पोर्टफोलियोमा देखिएको लैङ्गिक समावेशितालाई आधार मानेर मान्यता दिएको जनाएको छ ।
यससँगै, ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टको ‘इन्भेस्ट फर इम्प्याक्ट नेपाल’ कार्यक्रममार्फत महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई प्राविधिक सहयोगसमेत प्रदान गरिएको छ ।
सम्झौतासँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । बैंकका अनुसार यसले दिगोपनासम्बन्धी रणनीति, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछ ।
बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्रा ले नेपालसँगको सहकार्यलाई समावेशी आर्थिक विकाससँग जोडिएको उल्लेख गर्दै महिलाद्वारा सञ्चालित व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्न गरिएको पहलप्रति खुशी व्यक्त गरिन् । उनले यो साझेदारीले आर्थिक अवसर विस्तार, महिला उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासलाई अघि बढाउने बताइन् ।
ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका एसिया क्षेत्र प्रमुख तथा प्रबन्ध निर्देशक श्रीनी नागराजन ले नेपाल आफ्नो ‘फ्रन्टियर मार्केट्स’ रणनीतिको महत्वपूर्ण हिस्सा रहेको बताए । उनले वित्तीय पहुँचबाट बाहिर रहेका व्यवसायलाई सहयोग गर्न सक्षम संस्थासँग सहकार्य गरिएको उल्लेख गर्दै निजी क्षेत्रको दिगो विकासका लागि यस्तो लगानी आवश्यक रहेको धारणा राखे ।
लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई ले एमएसएमई नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि विशेषगरी महिला नेतृत्वका व्यवसाय अझै औपचारिक वित्तीय पहुँचबाट टाढा रहेको बताए । उनले नयाँ कर्जा सुविधामार्फत त्यो खाडल कम गर्न सहयोग पुग्ने उल्लेख गरे ।
लक्ष्मी सनराइज बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गको वाणिज्य बैंक हो । बैंकका देशभर २५४ शाखा, ३२७ एटीएम तथा डिजिटल बैंकिङ सञ्जाल रहेका छन् ।
त्यसैगरी ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बेलायत सरकारको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता हो । संस्थाले विकासशील मुलुकमा लगानीमार्फत गरिबी न्यूनीकरण, आर्थिक विकास तथा जलवायु संकट न्यूनीकरणमा सहयोग गर्दै आएको छ ।

