काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जेठ १८ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीले आर्थिक वर्ष ०७९/८० देखि
लाभांश वितरण गर्न सुरु गरेकोमा निरन्तरता दिदैं आएको छ । पहिलो वर्ष १० प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत वर्ष भने १२ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्ला दुई आर्थिक वर्ष नगद लाभांश मात्र वितरण गरेको कम्पनीले यो वर्ष भने बोनस शेयरमा जोड दिएको हो ।

