२०८३ असार २८ | ११:४९ AM
माछापुच्छ्रे बैंकको ३ अर्बको अग्राधिकार शेयर सूचीकृत

माछापुच्छ्रे बैंकको ३ अर्बको अग्राधिकार शेयर सूचीकृत

लगानीबक्स २०८३ जेठ २० १०:०४ अपराह्न

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत निश्चित लाभांशदरयुक्त अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर नेप्सेमा सूचीकृत गराएको हो। उक्त शेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ बराबर रहेको छ।

नेप्सेका अनुसार ‘एमबिएलपिएनपी’ स्टक संकेतमा सूचीकृत उक्त अग्राधिकार शेयर जेठ २० गतेदेखि दोस्रो बजारमा कारोबारयोग्य भएको छ।

बैंकले जारी गरेको यस अग्राधिकार शेयरमा वार्षिक ८.२५ प्रतिशत निश्चित लाभांश प्राप्त हुने व्यवस्था रहेको छ। यो शेयर परिपत्र विधिमार्फत संस्थागत लगानीकर्तालाई बिक्री गरिएको थियो।

नेप्सेमा सूचीकृत भए पनि यस प्रकारको अग्राधिकार शेयरको कारोबार सर्वसाधारण लगानीकर्ताका लागि खुला रहने छैन। नियामकीय व्यवस्थाअनुसार दोस्रो बजारमा पनि यसको खरिद–बिक्री संस्थागत लगानीकर्ताबीच मात्रै हुनेछ।

धितोपत्र दलाल कम्पनी, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष तथा सर्वसाधारण लगानीकर्ताले भने उक्त शेयरको खरिद-बिक्री गर्न नपाउने व्यवस्था रहेको छ।

माछापुच्छ्रे बैंकको यो अग्राधिकार शेयर सूचीकृत भएसँगै संस्थागत लगानीकर्ताका लागि निश्चित प्रतिफलयुक्त लगानीको अर्को विकल्प थपिएको छ।

बैंकिङ क्षेत्रको दीर्घकालीन पूँजी संरचना सुदृढ बनाउन तथा नियामकीय पूँजी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकहरूले पछिल्लो समय अग्राधिकार शेयर निष्कासनलाई प्राथमिकता दिन थालेका छन्।