काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको शेयर अभौतिकीकरण अर्थात हितग्राही खाता (डिम्याट) मा जम्मा गराउने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) सँग सम्झौता भएको छ । कम्पनी र सिडिएससीबीच जेठ २५ गते शेयर अभौतिकीकरणका लागि सम्झौता भएको हो ।
अब कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर सूचीकरणका लागि प्रक्रिया अघि बढाउँनेछ । कम्पनीले सर्वसाधारण लगानीकर्तामा आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि दोस्रो बजारमा सूचीकरण प्रक्रिया अघि बढाएको हो । सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँट कार्य गत जेठ ६ गते सम्पन्न भएको हो ।
यस कम्पनीले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ वैशाख १ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजना निर्माणको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ । यस आयोजनाको विद्युत अनुमतिपत्र बहाल रहने अवधि २१०२ असार ११ गतेसम्म रहेको छ । १ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी कायम भएको कम्पनीको पूँजीमा सस्थापक तर्फ ६४ दशमलव ७४ प्रतिशत स्वामित्व छ ।

