२०८३ असार २८ | ११:४६ AM
कालंगा हाइड्रोको अन्तिम चरणको आईपीओ बाँडफाँट 

कालंगा हाइड्रोको अन्तिम चरणको आईपीओ बाँडफाँट 

लगानीबक्स २०८३ जेठ २७ १:०७ अपराह्न

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले अन्तिम चरणमा थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ जेठ २७ गते बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको सहकार्यमा कम्पनीले आईपीओ बाँडफाँट कार्य सम्पन्न गरेको हो । कम्पनीले थप सर्वसाधारणका लागि जेठ ८ गतेदेखि १३ गतेसम्म २८ लाख ७० हजार कित्ता शेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गर्दा भाग्यमानी २ लाख ८७ हजार आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । विक्री प्रबन्धकमा अनुसार २८ लाख ६० हजार ७६६ जना आवेदकहरुबाट कम्पनीको आईपीओ खरीदका लागि रितपूर्वक आवेदन परेको थियो ।

यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशतले हुने ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय , ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरि बाँकी रहेको शेयर थप सर्वसाधारणमा अन्तिम चरणमा निष्कासन गरेको हो ।

यस कम्पनीले बझाङ्ग जिल्लामा १५ दशमलव ३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाबाट कम्पनीले २०७९ साल माघ २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । उक्त आयोजना निर्माणको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार रुपैयाँ रहेको छ । यस आयोजना सञ्चालन गर्न नेपाल सरकार उर्जा मन्त्रालयबाट कम्पनीले २०७२ साल चैत १४ गते अनुमति पाएको थियो । उक्त अनुमति पत्र २१०७ साल चैत १३ गतेसम्म बहाल रहने र त्यसपछि यो आयोजना नेपाल सरकारलाईहस्तान्तरण हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय धोबिघाट, ललितपुरमा रहेको छ भने कारोबार गर्ने मुख्य स्थान बझाङ जिल्लामा रहेको छ ।