काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरी बाढी प्रभावित नागरिकको आवतजावत सहज बनाएको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन्।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देविघाट पुगेका देउवाले नेपाली सेनाका अधिकारी तथा सुरक्षाकर्मीसँग भेट गर्दै विपद्को समयमा देखाएको सक्रियता र योगदानको प्रशंसा गरेका हुन्।
भेटका क्रममा देउवाले नेपाली सेनाले कठिन परिस्थितिमा जनताको साथमा उभिएर महत्वपूर्ण काम गरेको बताए। उनले बाढीका कारण प्रभावित नुवाकोट तथा माथिल्लो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै सेनाप्रति आभार व्यक्त गरे।
‘धेरै–धेरै धन्यवाद । नेपाल आर्मीले नेपाली जनता दुःखमा परेको बेला साथ दिएर बेलिब्रिज बनाइदिएको छ । नुवाकोटका दाजुभाइ तथा माथिल्लो क्षेत्रका मानिसहरू आवतजावत गर्न सकून् भनेर यो काम गर्नुभएको छ,’ देउवाले भने।
उनले नेपाली सेनालाई आगामी दिनमा पनि विपद् व्यवस्थापन तथा जनसेवाका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्न आग्रह गरे।
देउवा बिहीबार बिहान कांग्रेसका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेत, गुरु बराल र कुन्दनराज काफ्लेलगायतसँगै नुवाकोट पुगेका थिए। टोलीले बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीयवासीसँग भेटघाट समेत गरेको जनाएको छ।

