काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर ३ लाख १ सय रुपैयाँमा झरेको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गएको शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको थियो भने आइतबार बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ प्रतितोला ४० रुपैयाँले घटेको थियो।
महासंघका अनुसार सुनचाँदीको मूल्य पछिल्ला दिनहरूमा लगातार उतारचढाव भइरहेको छ। यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो। त्यस्तै, चाँदीको भाउ पनि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर उच्चतम बिन्दुमा पुगेको थियो।

