काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लागि कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
१५ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा हाल नेपाल धितोपत्र बोर्डमा निवेदन पेश भए बमोजिम १४ लाख ५७ हजार २५३ दशमलव ८३ कित्ताभित्र सिमित रहने गरी दामासाही तरिकाले हकप्रद शेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेको छ । उल्लेखित प्रस्तावहरु सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असोज १९ गते द प्लाजा, पुल्चोक, ललितपुरमा विहान ११ः३० बजे वार्षिक साधारण सभा गर्ने निर्णय कम्पनीले गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ५ देखि १९ गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज २ गते शुक्रवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

