काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असोज २२ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एलिस रिसेप्सन, गैरीधारा, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्व्किृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष ०८२।८२ को सञ्चित मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ३६ प्रतिशत गरि कुल १० दशमलव ३६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीले लाभांश वितरणलाई निरन्तरता दिदैं आएको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक
निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । साथै संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुतर्फबाट ३ जना गरी कुल ६ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यसका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

