बुधबार, ३१ भदौ २०८३ | १२:११ PM
गरिमा विकास बैंकले असोज २६ गते बोलायो साधारण सभा २०…

गरिमा विकास बैंकले असोज २६ गते बोलायो साधारण सभा २० प्रतिशत लाभांश पारित हुने

लगानीबक्स ३१ भदौ २०८३ १०:५० पूर्वाह्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज २६ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड, कास्की, पोखरामा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०८२÷८३ को लागि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब २ करोड १३ लाख रुपैयाँभन्दा बढी छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँभन्दा बढी कायम हुनेछ । गत वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । यस वर्षको लाभांश ९ वर्षपछिकै बढी हो । यस अघि आर्थिक वर्ष ०७२।७३ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको तथ्याङ्क छ । त्यसपछिका वर्ष भने कम्पनीले २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको देखिन्छ । लाभांश वितरणलाई कम्पनीले निरन्तरता दिँदै आएको छ ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।