बुधबार, ३१ भदौ २०८३ | १:०४ PM
असोज २२ गते साधारण सभा गर्दै नबिल बैंक

असोज २२ गते साधारण सभा गर्दै नबिल बैंक

लगानीबक्स ३१ भदौ २०८३ ११:५५ पूर्वाह्न

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक साधारण सभा असोज २२ गते गर्ने तयारी गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब,भद्रकाली, काठमाडौंमा विहान ९ः३० बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा साधारण शेयरधनीहरुका लागि कुल १५ दशमलव ८० प्रतिशत र अग्राधिकार शेयरधनीहरुका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीको छ । साधारण शेयरधनीहरुतर्फको कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर समेत १० दशमलव ८० प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै कम्पनीले ८ प्रतिशत निश्चित लाभांश दर तोकेर जारी गरेको अभिमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुका लागि समेत पहिलो वर्षनै तोके बमोजिमको लाभांश दिने निर्णय गरेको छ । कम्पनीले कर समेत ८ प्रतिशत नगद लाभांश भने अग्राधिकार शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष ०८२।८३ मा कम्पनीले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक बृद्धिको आधरामा शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने उदेश्यले लाभांश प्रस्ताव गरिएको जानकारी कम्पनीले दिएको छ । उल्लेखित प्रस्तावसँगै संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण सहायक कम्पनीहरुको समेत पारित गर्ने प्रस्ताव गरेको कम्पनीले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान र वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त भएमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्न लागेको छ। बुक क्लोजको आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।