काठमाडौं । अघिल्ला तीन आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको कुमारी बैंक लिमिटेडले यस वर्ष भने लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०८२।८३ को लागि कम्पनीले कर समेत २ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । भदौ ३० गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरी वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको हो । यस कम्पनीले आर्थिक वर्ष ०७८।७९ पछि लाभांश वितरण गरेको थिएन ।
उक्त वर्ष १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले विगतका वर्षहरुमा ३४ दशमलव ७४ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास छ । आर्थिक वर्ष ०७०।७१ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च उल्लेखित लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ७९ करोड १६ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा रहेको वितरणयोग्य नाफा गत वर्ष सुधारिएको हो ।

