बुधबार, ३१ भदौ २०८३ | ३:५२ PM
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन…

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

लगानीबक्स ३१ भदौ २०८३ २:३४ अपराह्न

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ३० दिन अवधिका लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकमका लागि बोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखिनेछ। त्यसपछि क्रमशः बढी ब्याजदरका बोल स्वीकार गर्दै राष्ट्र बैंकले आह्वान गरेको रकमसम्म बाँडफाँड गरिनेछ।समान ब्याजदरमा प्राप्त बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा त्यस्तो रकमलाई ‘प्रो–रेट बेसिस’मा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित निक्षेपको सावाँ रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिनेछ। राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी असोज ३० गते गरिनेछ।