काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले भोटेकोशी बाढीबाट प्रभावित ग्राहकका लागि भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ। साथै, क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगका ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिनेछ।
मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको छ। यसैबीच, बाढी प्रभावित १५ पालिकाका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट दिन सकिने विषयमा अध्ययन गरी प्रस्ताव पेश गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ। अध्ययन प्रतिवेदनका आधारमा यसै साता थप छुट तथा सहुलियतको टुंगो लगाइने तयारी गरिएको छ।

